ल्होछार पर्व र विशेषता Print
User Rating: / 9
PoorBest 
Friday, 18 February 2011 16:32

हाम्रो नेपाल भौगोलिक रूपमा सानो भए पनि संस्कृतिमा धनी छ । हामी गर्वसँग भन्नसक्छौं हामीसँग सयौं जात/जाति, सयौं भाषाभाषी, त्यत्तिकै संख्यामा संस्कृतिहरू छन् । हाम्रो जस्तो ऐतिहासिक सांस्कृतिक पृष्ठभूमि बोकेको महान् देश संसारमा विरलै पाइन्छ । तर विगतको २४० वर्षसम्म हिन्दु खस कथित उच्चजात सामन्ती राजतन्त्रले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतालाई विकासको बाधक ठान्यो । “हिन्दुधर्म, हिन्दुराजा, खसभाषा र हिन्दु संस्कृति”को संरक्षण र विकासको लागि नेपालका सम्पूर्ण रैथाने आदिवासी जाति, जनजाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई मान्यता नदिएको मात्र होइन, हिन्दु मूल्य र मान्यतामा सबैलाई विलय गराउने दमनकारी बाटो अपनायो । यो अवधि नेपालको मौलिक रैथाने आदिवासी संस्कृतिहरूका लागी संकटकाल थियो । यसलाई सांस्कृतिक साम्राज्यवाद भन्नसकिन्छ । अहिले यस्तो एकल जातीय सांस्कृतिक नीतिद्वारा क्षतविक्षत भएका सबै सांस्कृतिक सभ्यताले पहिचान, प्रतिष्ठा र मान्यता खोज्नथालेका छन् । सबै आफ्नो सामुदायिक चाडपर्वलाई राजकीय मान्यता दिलाउने प्रयत्नमा जुटेका छन् । स्मरणीय छ कि यस सम्बन्धमा यही २०६५ माघ १० गते तामाङ जातिको ९७ वटा संघसंस्थाले संयुक्त रूपमा ल्होछारको लागि ५ दिनकेा सार्वजनिक बिदाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

 

“ल्हो” को अर्थ तामाङ भाषामा साल, संवत्, वर्ष र “छार”को अर्थ “नयाँ” अर्थात् “ल्होछार”को अर्थ “नयाँ वर्ष” हुन्छ । यसलाई भोटेभाषामा “लोसार” र तमु भाषामा “ल्होछार” भनिन्छ । ल्हो बाह्रवटा हुन्छन् । यसलाई तामाङ भाषामा “ल्होखोर च्युङी” भनिन्छ । ल्होको नाम विभिन्न पशुपक्षीको नामबाट राखिएको हुन्छ र प्रत्येक वर्षलाई एक एकवटा पशुपक्षीले प्रतिनिधित्व गर्दछ । ” बाह्र ल्हो”ले बाह्रवटा वर्षलाई प्रतिनिधित्व गर्दछ । बाह्रवटामध्ये प्रत्येक वर्ष एक एकवटा फेरिन्छ । १२ वर्षको चक्र पूरा गरेपछि पुनः पहिलो ल्हो दोहोरिएर आउँछ । यसै क्रममा एक वर्ष समाप्त भएर अर्को ल्हो र्फकने समयलाई ल्होछार भनिन्छ । ल्हो गणना चन्द्रमासमा आधारित भएकोले माघ शुक्लपक्ष प्रतिपदा अर्थात् चन्द्रोदयको दिन ल्हो फेरिन्छ । विक्रमसंवत् अनुसार यो वर्षको ल्हो २०६५ माघ १४ गते तदनुसार इस्वीसंवत् २००१ जनवरी २७ तारेखमा पर्दछ । तामाङ लगायतका जनजातिहरू ल्होछारलाई हिन्दुहरूले “दशैं” जस्तै १५ दिनसम्म मनाउँछन् ।

“ल्हो” कहिलेदेखि सुरू भयो, यकिनसाथ भन्न सकिने स्थिति छैन । तर के दावा गर्नसकिन्छ भने नयाँ वर्ष मनाउने परम्परामा यो संसारको सबैभन्दा पुरानो प्रचलन हो । ईसापूर्व २६३७ मा चिनकेा सम्राट हुवाङ चीको पालामा चिनीया चन्द्र पात्रो सुरू भयो र उनको शासनको ६१ औं वर्षमा प्रथम ६० वर्षे चक्र सुरू भयो । आजभन्दा चार हजार सात सय ६ वर्ष पहिले नै यो परम्परामा पात्रो निर्माण भएको देखिन्छ । नेपालका तामाङलगायत जनजातिले कहिलेदेखि ल्होछार मनाउन सुरू गरे, त्यो भन्नसकिन्न । त्यसैले हामीले यसलाई “ल्होछार” परम्परा भनेका हौं ।

चीन - मुख्य भाग, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्यान्ड, ताइवान, मलेसिया, सिङ्गापुर, भुटान, लदाख आदि देश तथा ठाउँहरुमा प्रत्येक वर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन ल्होछार -नयाँ वर्ष मनाउने गर्दछन् । चीनको तिब्बत स्वायत्त प्रदेशमा पनि ल्होछार मनाइन्छ तर त्यो माघशुक्लपक्ष प्रतिपदाको दिन नभई त्यसको एक महिनापछि फागुन शुक्लपक्ष प्रतिपदाको दिन मनाउँछन् । यसो हुनुमा तिब्बतमा यस्को ऐतिहासिक कारण रहेको छ । पाँचौं दलाई लामाको ज्योतिष शास्त्र “सेतो-कालो प्रश्नोत्तर” ग्रन्थ अनुसार सन् १२२२ तदनुसार तिब्बती सम्बत् “रब्ज्यूङको अग्नी सुँगुर वर्ष”मा मंगोल बादशाह चेङगिज खाँले तिब्बतको शिहुँ प्रान्तका राजा मिञागको शासनमाथि कब्जा गरे । त्यसको खुशियालीको उपलक्ष्यमा साविकको ल्होछारभन्दा एक महिनापछि तिब्बतमा ल्होछार मनाउन थालियो । यो ल्होछार राजाले चलाएको हुँदा यसलाई ग्याल्बो -राजा ल्होछार पनि भनिन्छ । यो मंगोलको बादशाहको हुकुमबाट मनाउन थालिएको हुँदा तिब्बती पात्रोको पहिलो महिनाको नाम होर्दाद्ङ्पो -होर-मंगोल र दावा-महिना मंगोल पहिलो महिना भनिन्छ । यही लोसारलाई शेर्पाहरूले मनाउँदै आएका छन् ।

नेपालमा तामाङ भाषा, गुरूङ, लोपा, जिरेल, नेस्याङ्बा, हुम्ली तामाङ, भोटे, याल्मोपा, मनाङ्वा, डोल्बा, दुरा, शेर्पा, लेप्चा, लार्के, सिङ्सा, खच्चर-नेवार, खाम-मगर, तीन गाउँले थकाली, तोप्के, वालुङ आदिले मान्दछन् । तमुहरूले पुस १५ लाई “ल्होछार” मान्दछन् । तर यो “पुस १५” चन्द्रमासमा आधारित गणना होइन र यो दिन पूर्वीय पात्रो परम्पराभन्दा भिन्न छ । तामाङ जातिले भने माघशुक्लपक्ष प्रतिपदाको दिन अर्थात् ल्होछारको सबैभन्दा पुरानो परम्पराकै अनुसरण गर्दैछन् । यसले तामाङ जातिको आदिवासीपन, उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई प्रतिविम्बित गर्दछ ।

१२ ल्होका लागि १२ पशुपक्षीका चिन्हहरू हुन्छन् । तिनमा १) मूसा, २) गोरू, ३) बाघ, ४) खरायो, ५) गरूढ, ६) सर्प, ७) घोडा, ८) भेडा, ९) बाँदर, १०) चरा, ११) कुकुर र १२) बँदेल क्रमशः छन् । यी चिन्हहरू पौराणिक चिन्ह हुन् । यसमा मूसा पहिलो र बँदेल अन्तिम ल्हो मानिन्छ । मानिस जुन चिन्ह वर्षमा जन्मन्छ, उसको जीवनमा त्यो पशुपक्षीको प्रशस्त प्रभाव देखिन्छ भन्ने मानिन्छ । ल्होको गणना चन्द्रमास -पात्रो) परम्पराअनुसार गरिन्छ । यसमा २९ दिनको एक महिना हुन्छ र ३५४ दिनको एक वर्ष हुन्छ । सौर्य पात्रोको वर्षसँग मिलान गर्न यसमा प्रत्येक अढाई वर्षमा मलमास मान्ने गरिन्छ ।

यो परम्परामा रातको ११ वजेदेखि नयाँ दिन सुरू हुन्छ र दिनको २४ घण्टामध्ये प्रत्येक पशुपक्षी चिन्हले २ घण्टा राज गर्दछ । यो परम्परामा पहिलो मूसाले रातको ११ बजेदेखि विहान १ वजेसम्ममा, गोरूले विहान १ बजेदेखि ३ बजेसम्म, बाघ, खरायो, गरूड, सर्प, घोडा, भेडा, चरा, कुकुर र बँदेलले बाँकी ३ बजेदेखि रातको ११ बजेसम्मको दुई-दुई घण्टा क्रमशः राज गर्दछन् ।

ल्हो चिन्हहरू, पाँच खाम -धातुहरू -धातु, पानी, काठ, आगो, माटोसँग जोडिएको हुन्छन् । यी खामहरू एक अर्कासँग अन्तर्सम्बन्धित हुन्छन् । धातु पगाले तरल -पानी) बन्दछ । पानी परे बोटबिरूवा सप्रन्छ र काठ बन्दछ । काठको घर्षणबाट आगो निस्कन्छ । आगोबाट खरानी र माटो बन्दछ र माटो -पृथ्वी)बाट धातु निक्लिन्छ । यी खामहरूलाई सक्रिय तथा निष्त्रिmय वा भाले तथा पाथी, सेतो तथा कालो, दिन तथा रातमा विभाजन गर्न सकिन्छ । चिनियाहरू यसलाई यीन तथा याङ भन्दछ्न । ल्होले ६० वर्षे एक चक्र पूरा गर्दा “ल्हो” र “खाम” पुनः दोहोरिन्छ । ६० वर्षे दुई चक्र पूरा गर्दा “ल्हो”, “खाम” र “यीन/याङ” पनि दोहोरिन्छ । यो प्रणालीमा अशिक्षित मानिसले पनि बाह्रवर्षे चक्र र साठीवर्षे चक्रका आधारमा सजिलै आफ्नो उमेर गन्न सक्छन् ।

निश्चित रूपमा, ल्होछार ल्होको गणनाका लागि मात्र होइन । यो सांस्कृतिक परम्परा थियो र हेा । त्यति मात्र होइन, ल्हो परम्परा ज्योतिषशास्त्रसँग अन्योन्याश्रति रूपमा जोडिएको छ । यो आयुर्वेद अर्थात् परम्परागत औषधिविज्ञान र प्रणालीसँग जोडिएको छ । यस्को सामाजिक र आध्यात्मिक महत्व पनि छ । ल्होछारको अघिल्लो दिन ल्होछार प्रेमीहरू १२ जीवजन्तुको ल्हो बनाई नराम्रो ग्रहदशा हटाउन र सुखको दिनलाई स्वागत गर्न मनाउने गर्दछन् । ल्होछारको दिन प्राणीमात्रको मुक्ति र सुखको लागि घरघर, गुम्बा, सार्वजनिक स्थलमा प्रार्थना गर्दै धर्जु -धार्मिक झण्डा फहराउँछन् । आफूभन्दा ठूलाको आशीर्वाद लिनु तथा शुभकामना दिनु १५ दिनसम्म आफन्तकहाँ जाने चलन छ । विदेश गएकाहरु घर र्फकन्छन् । यो हिन्दुहरूले दशैं मनाएजस्तै तामाङहरुका लागि ठूलो चाड हो । यही ल्होछारको दिनबाट वसन्त ऋतु सुरू हुनेहुँदा कृषकहरूका लागि पनि यसको आफ्नै महत्व छ । प्रकृतिमा पालुवा फेरिने मात्र होइन पशुपक्षीमा प्रजनन सुरू हुन्छ र सृष्टिको प्रक्रिया थामिन्छ । अनि कृषकहरु खेतीपाती सुरु गर्दछन् । सबभन्दा महत्वपूर्ण यो तामाङजस्तो जातिको लागि राष्ट्रिय पहिचानसँग जोडिएको प्रश्न पनि हो ।

ल्होछार मान्ने समुदायहरूको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी सरकारको पालामा माघ शुक्लपक्ष प्रतिपदा दिनलाई ल्होछार पर्व घोषणा गरी ल्होछार मान्ने समुदायलाई सरकारी बिदा दिने निर्णय गर्‍यो । यो दिन हाम्रो लागि एकातिर ज्यादै खुशीको दिन थियो किन भने यो दिन नेपालमा सर्वप्रथम गैरहिन्दु सांस्कृतिक पर्वले राष्ट्रिय मान्यता पाएको थियो । अर्कोतिर दुःख लागेको थियो किनभने पुनस्र्थापित प्रजातान्त्रिक व्यवस्थामा पनि ल्होछारको राष्ट्रिय पर्वको मान्यताले हिन्दु चाडबाड र पर्वको बराबर हैसियत प्राप्त गरेको थिएन । तै पनि हामीमाथि सांस्कृतिक विभेद कायमै रहृयो । हाम्रो माग थियो – ५ दिनको राष्ट्रिय सार्वजनिक बिदा । २०४७ सालको संविधानले निरंकुश पञ्चायतीव्यवस्थाको “हिन्दुराज्य” र “हिन्दुसंस्कृति”को नीतिलाई निरन्तरता दियो । त्यसैले राज्यले हिन्दु पर्वहरुलाई पाँच दिनदेखि १५ दिनसम्म सार्वजनिक बिदा दिइआएको छ । यो स्थितिबाट के बुझ्यौं भने हिन्दुराज्यसत्ता नै हाम्रो जातीय भेदभाव, राजनीतिक दमन र सत्ताबाट बहिष्करणको मूल जड हो । जबसम्म नेपाल धर्मनिरपेक्ष राज्य हुँदैन, हामी स्वतन्त्र र सार्वभौम हुँदैनौं । नेपाल राज्यले गैरहिन्दुहरूको नागरिक तथा राजनीतिक अधिकार र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लङ्घन गर्न छोड्ने छैन । त्यसैले धर्मनिरपेक्षता आदिवासी जनजाति र दलितहरूको प्रमुख माग बन्यो । २०६२/०६३को जनआन्दोलनपछि पुनस्र्थापित संसद्ले नेपाललाई धर्मनिरपेक्षराज्य घोषणा गरेको छ तर अझै पनि गाईलाई “राष्ट्रिय जनावर”को मान्यता कायमै छ । गत वर्ष सरकारले ल्होछारका दिनलाई राष्ट्रियस्तरमा “सार्वजनिक बिदा” दिने निर्णय गर्‍यो तर हिन्दुपर्वमा पाँच दिनदेखि १५ दिनसम्म बिदा दिने तर जनजातिको पर्वमा एकदिन मात्र बिदा दिने विभेद भने कायमै छ । धर्मनिरपेक्षताको योभन्दा ठूलो उपहास अरु के हुनसक्छ ?

यो मुलुकमा बृहत् अर्थमा चार प्रकारको सांस्कृतिक समूह छन् – १) तिब्बती संस्कृतिलाई केन्द्र मान्ने उत्तरका तिब्बतसँग जोडिएको हिमाली क्षेत्रमा भोटे संस्कृति, २) भारतको विहार र उत्तर प्रदेशलाई केन्द्रबिन्दु मान्ने दक्षिणको भारतसँग जोडिएको मधेसी संस्कृति, ३) पहाडे खस-आर्य संस्कृति र ४) नेपाल उत्पत्ति र केन्दि्रत आदिवासी जनजाति संस्कृति । यी संस्कृतिहरू हाम्रा सांस्कृतिक सम्पदा हुन् । हाम्रो राष्ट्रिय अस्तित्व र पहिचान हुन् । सांस्कृतिक समृद्धि विनाको मुलुक कान्तिहीन अस्तित्वविहीन मुलुक हुन्छ र त्यसले राष्ट्रको विशिष्ट पहिचान गुमाउँछ । तर नेपाल अझै पनि हिन्दुधर्म र हिन्दु सांस्कृतिक मान्यताका आधारमा चलिरहेछ । तसर्थ नेपालमा सांस्कृतिक स्वतन्त्रताको संरक्षणका लागि “राष्ट्रिय सांस्कृतिक नीति” र तदनुरूप “सार्वजनिक बिदा नीति” बन्नुपर्दछ । अहिले नेपालमा दशैं बिदा १५ दिन, तिहार बिदा ५ दिन, चैते दशैं, शिवरात्रि, शंखधर दिवस, नेपाल संवत्, सहिद दिवस, माघे संक्रान्ति, उँधौली-उँभौली, तमू ल्होछार, ल्होछार बिदा, छठ बिदा, क्रिसमस, इद आदि सार्वजनिक बिदा प्रचलित छन् । अझै पनि थुपै्र सांस्कृतिक समूह छन् जसले आफ्ना समुदायका लागि बिदाको माग गरिरहेछन् । यस परिप्रेक्ष्यमा सरकारले “राष्ट्रिय सांस्कृतिक नीति सुझाव आयोग” गठन गरी राष्ट्रिय सांस्कृतिक पर्वहरू निर्धारण गर्नुपर्दछ र सोही अनुरूप समान सार्वजनिक बिदा दिने नीति अपनाउनु आवश्यक छ ।

ल्होछार मनाउनका लागि एक-एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । एक दिन बिदा ल्होछार मनाउनु पर्याप्त छैन । कम्तीमा तीन वा पाँच दिन बिदा चाहिन्छ । बिदाको कुरामा विभिन्न खाले प्रश्न उठ्ने गरेेका छन् – के प्रत्येक समुदायको पर्वमा राष्ट्रिय रूपमा सार्वजनिक बिदा दिनु ठीक हो ? यसो गर्दा वर्षमा सयौं दिन सरकारी तथा गैरसरकारी कार्यालय बन्द हुन्छन् । के तीन ल्होछारलाई एक बनाउन सकिन्छ? प्रत्येक समुदायको मूल चार्डपर्वको पहिचान गरी समान राजकीय सार्वजनिक बिदा दिन सकिन्छ । हो, मिल्ने समुदायको चाडपर्वलाई एकीकरण गर्न सकिन्छ । २०५१ सालमा हामी मगर, गुरूङ, तामाङ, योल्मोपा, जिरेल, थकाली, शेर्पा, दुरा एउटै ल्होछारको लागि सार्वजनिक बिदा माग्न संयुक्त रूपमा प्रतिनिधिमण्डल गएका थियौं । मूल प्रश्न के हो भने राज्यले सबै संस्कृतिलाई समान मान्यता र हैसियत दिने कि नदिने ? यहाँ खोजी समानता र सामाजिक न्यायको हो, धेरै बिदाको होइन ।

भर्खरै सरकारले “नेपाल संवत्”लाई पनि “राष्ट्रिय संवत्”को मान्यता प्रदान गरेको छ । नेपालमा विक्रम संवत् चलिआएकै छ । यसबाहेक किरात संवत्, तामाङ -मञ्जुश्री संवत्, तिब्बती संवत्, बुद्ध संवत् पनि समुदायगत रूपमा मान्ने प्रचलन छ । राजकीय मान्यता नभए पनि गेगोरिय संवत् पनि चलनचल्तीमा रहेको छ । के यी सबै संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर प्रयोगमा ल्याउन सम्भव छ ? के विक्रम संवत्लाई हटाउनै पर्दछ ? यो प्रश्नको हल वास्तवमा सांस्कृतिक समानताको सिद्धान्तअनुसार गरिनुपर्दछ । सबै संवत्लाई राष्ट्रिय मान्यता दिन सकिन्छ र दिनुपर्दछ । अब नेपाल संघीय राज्यमा परिणत हुनेहुँदा गेग्रोरियन पात्रो -इस्वी संवत्लाई केन्द्रीय सरकारले र सम्बन्धित प्रदेशले आआफनो संवत् चलाउने हो कि ? सैद्धान्तिक रूपमा समान मान्यता र व्यवहारमा स्थितिअनुसारको प्रयोगको नीति उपयोगी हुनसक्तछ । छलफल चलाउनु जरुरी छ ।

सबै समुदायले आआफ्ना लागि ३ वा ५ दिन सार्वजनिक बिदा माग्नु निश्चय नै सरकारी कामकाज र राष्ट्रिय उत्पादनको दृष्टिले उचित मान्न सकिन्न तर कुनै जातिले १५ दिन बिदा पाउने र कुनैले १ दिन पनि बिदा नपाउनु जातीय, धार्मिक, सांस्कृतिक विभेदको द्योतकबाहेक अरू केही मान्न सकिन्न । नयाँ नेपालले विभेदको विरासत अब कदापि बोक्नुहुन्न । राज्यले समानता, स्वतन्त्रता, अभेदभाव र प्रतिष्ठाका आधारमा सबै संस्कृतिको सम्मान गर्न सक्नुपर्दछ ।

Source:  परशुराम तामाङ